राष्ट्रिय
प्रदेशी दशैँ मनाउन मातृभूमी फर्किदै नेपाली
कञ्चनपुर । पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकी–बनबासा नाकाबाट बिहानैदेखि नेपाली नागरिक स्वदेश फर्किनेको घुईचो लाग्ने गरेको छ । बनबासादेखि गडड्डाचौकी सीमा नाकामा बिहानैदेखि स्वदेश फर्किने नेपालीहरुको घुईचो लाग्ने गरेको छ । नेपालीको महानपर्व दशैँ मनाउनका लागि भारतमा काम गर्दै आएका मजदुर नालाबाला सहित स्वदेश(घर फर्किन) लागेका छन ।
बाजुरा कुण्डी गाँउका हर्क नेपाली एक दशकमा स्वदेश फर्किएका छन । स्वदेशमा रोजगारी नपाएपद्धि १२ बर्षकै उमेरमा विदेशीन बाध्य भएका नेपाली नालाबाला सहित दशैँ मनाउन मातृभूमि फर्किएका हुन ।
भारतको दिल्लीमा मजदुरी गर्दै आएका उनी एक जहान, तीन सन्तान सहित १० बर्षपछि घर परिवारसंगै दशैँ मनाउन फर्किएका छन । ‘रोजगारी र छोराछोरीको अध्ययनका लागि म यस १० बर्षमा उतै दशैँ मनाए अहिले उता छुट्टी गरेर स्वदेश आएको छु, ‘उनले भने, ‘यस पटक परिवारसंगै दशैँ मनाएर फेरी काममा फर्किन्छु ।’ उनले विगतको जस्तो सीमा क्षेत्रमा अनावश्यक दुख दिने काम नभएको अनुभव व्यक्त गरेका छन ।
भारतको दिल्ली होटलमा काम गर्दै आएका बझाङ्गका रतनराम लुहार पनि जहान सहित दुई सन्तान लिएर दशैँ मनाउन घर फर्किएका छन । लुहार पनि ८ बर्ष अघि स्वदेशमा रोजगारी नपाएपछि भारत पसेका थिए, उनले काम र छोराछोरीको पढाईका कारण विगत ५ बर्षदेखि दशैमा घर आउन नपाएको बताउदै अहिले समय जुरेपछि आएको बताए । स्वदेशमा नेताहरुकै कारण रोजगारी नपाएपछि गुजारा चलाउनका लागि विदेशीन बाध्य भएको बताए ।
यस्तै भारतको बङलोरमा काम गर्दै आएका अछामका भक्त बहादुर साउदले दशैँका लागि मात्रै घर आएको बताए । उनले आफु हरेक दशैँमा घर आएको बताउँदै फेरी लगत्तै फर्किने बताए । ‘दशैँ हाम्रो महान पर्व हो, यो पर्वमा घरदेखि गाँउघरमा सबै साथीभाई ईष्टमित्रसंग भेटघाट हुन्छ, ‘उनले भने, ‘दशैँ मनाएर लगत्तै फर्किन्छु ।’
सिम्ला पहाडमा स्याउ टिप्न सिजनमा जाने बेलडाँडीका अर्जुन रानाले दशैँ खर्च जुटाएर घर फर्किएको बताए । ‘चुनावमा बेला हाम्रा नेताहरुले स्वदेशमै रोजगारी दिन्छु भन्छन, तर चुनाव जितेपछि हाम्रा कुरा सुन्दैन, ‘उनले भने, ‘पेट पाल्नकै लागि भएपनि रोपाई सकेर स्याउ टिप्न गएको हुँ ।’ यस्तै कैलालीको राजिपुरका पदम चौधरीले पनि रोपाई सकेर हिमान्चलमा स्याउ टिपेर घर फर्किएको बताए । ‘अब हामीसंग पनि पहिलेको जस्तो खेत छैनन, रोपाई सकेर काममा गए दशैँ, तिहार मनाएर गहुँ छर्किर फेरी जान्छौँ ।’ स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउनका लागि छिमेकी मुलुक भारत परेका सुदूरपश्चिम सहित नेपाली मजदुर यतिबेला झोलीझिम्टी बोकेर स्वदेश फर्किएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार दशैँ लक्षित गरेर हाल दैनिक हजार बाह्रसय नागरिक गड्डाचौकी नाकाबाट भित्रिन लागेका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले भारतबाट फर्किने नेपाली मजदुर सहितका सबै यात्रुहरुको सीमावर्ती क्षेत्रमा आवश्यक सुरक्षामा लागि हेल्पडेस्क सहितको प्रबन्ध गरिएको बताए । ‘भारतबाट स्वदेश फर्किने यात्रुहरुका लागि हामीले भारतबाटै आवश्यक सुुरक्षित यात्राका लागि भारतीय प्रहरीसंग समेत समन्वय गरेका छौँ, ‘उनले भने, ‘जहाँ समस्या देखियो,त्यही समाधान गर्दै सुरक्षित यात्राका लागि सबैतिरको सहयोग गरिरहेका छौँ ।’