अर्थ/वाणिज्य
लालझाडीका दुई सहकारीसँग १० दिनभित्र जवाफ माग
कञ्चनपुर । कृषि औजार तथा उपकरण वितरणका नाममा सहकारीमार्फत रकम सङ्कलन गरिएको तर सम्बन्धित कृषक तथा लाभग्राहीले उपकरण नपाएको विषयमा लालझाडी गाउँपालिकाले दुई सहकारी संस्थासँग जवाफ र आवश्यक कागजात माग गरेको छ।
लालझाडी गाउँपालिका–३, बल्मीमा रहेका अनमोल कृषि सहकारी संस्था लिमिटेड र दोदा साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई गाउँपालिकाले पत्र पठाउँदै कृषि उपकरणका लागि सङ्कलन गरिएको रकम तथा त्यसको प्रयोगबारे स्पष्ट प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
गाउँपालिकाले २०८३ असोज २९ गते जारी गरेको पत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी रजिष्ट्रारको कार्यालय, प्रशासन तथा सहकारी प्रवर्द्धन शाखाको पत्रलाई आधार बनाइएको छ।
सहकारी रजिष्ट्रारको कार्यालयबाट प्राप्त पत्रअनुसार ‘सुरो नेपाल’ नामक संस्थाबाट अनुदानमा कृषि औजार तथा उपकरण वितरण गर्ने प्रयोजनका लागि सहकारी संस्थामार्फत रकम सङ्कलन गरिएको तर सम्बन्धित कृषक तथा लाभग्राहीलाई कृषि औजार तथा उपकरण वितरण नगरिएको विषयमा जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले उक्त विषयमा रकम कसरी सङ्कलन गरियो, कति रकम सङ्कलन भयो र रकमको अवस्था के छ भन्ने विषयमा स्पष्ट विवरण माग गरेको छ।
त्यसका लागि सहकारी संस्थासँग ‘सुरो नेपाल’सँग भएको सम्झौता वा सहमतिको प्रतिलिपि, रकम सङ्कलन गर्ने निर्णय तथा बैठकको माइन्युट, रकम सङ्कलनको अभिलेख, आम्दानी रसिद, बैंक भौचर, बैंक स्टेटमेन्ट र आर्थिक कारोबारसम्बन्धी विवरण पेस गर्न भनिएको छ।
त्यस्तै, सङ्कलित रकम ‘सुरो नेपाल’ वा अन्य कुनै व्यक्ति तथा निकायलाई बुझाइएको भए त्यसको प्रमाण र भुक्तानी विवरणसमेत माग गरिएको छ।
सङ्कलित रकम हाल कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा समेत गाउँपालिकाले सहकारीसँग जवाफ खोजेको छ। रकम खर्च भएको, मौज्दात रहेको वा फिर्ता गरिएको भए त्यसको विवरण र प्रमाण पेस गर्न भनिएको छ।
यसैगरी कृषि उपकरण पाउनुपर्ने कृषक तथा लाभग्राहीको विवरण र वितरण हुन बाँकी कृषि औजार तथा उपकरणको विवरणसमेत उपलब्ध गराउन गाउँपालिकाले निर्देशन दिएको छ।
गाउँपालिकाले समस्या समाधानका लागि सहकारीले हालसम्म गरेका काम तथा आगामी दिनमा अवलम्बन गर्ने कार्ययोजनासमेत पेस गर्न भनेको छ। माग गरिएका कागजात उपलब्ध नभए त्यसको कारणसमेत स्पष्ट खुलाउनुपर्ने पत्रमा उल्लेख छ।
पत्र प्राप्त भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित संस्थाको आधिकारिक निर्णय र सत्यतथ्यमा आधारित प्रतिवेदन गाउँपालिकाको सहकारी शाखामा पेस गर्न निर्देशन दिइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौराद्वारा हस्ताक्षरित पत्रले कृषि उपकरण वितरणका नाममा उठाइएको रकम र लाभग्राहीले पाउनुपर्ने सामग्रीको अवस्थाबारे संस्थागत रूपमा स्पष्ट पार्न खोजेको देखिन्छ।
अब दुई सहकारीले पेस गर्ने प्रतिवेदन र कागजातबाट कति रकम सङ्कलन भएको थियो, रकम कहाँ प्रयोग भयो र किसानले पाउनुपर्ने कृषि उपकरण किन वितरण हुन सकेन भन्ने विषय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।