स्वास्थ्य

लालझाडीमा आधारभूत अस्पताल र शंकरपुर आयुर्वेद औषधालयको भवन मदनका पालामा शुरुवात, निर्मलका पालामा योजना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको लालझाडी गाउँपालिका वडा नं. ३ नन्दगाउँ स्थित  शंकरपुर आयुर्वेद औषधालय तथा लालझाडी आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ । लालझाडीका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले सोमबार दुवै भवनको उद्घाटन गरिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निर्मल रानाले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । नवनिर्मित भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले आफ्नै पालिकाभित्र सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधी तथा उपकरणको व्यवस्थापनमा पनि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

निर्वतमान गाँउपालिका प्रमुख मदनसेन बडायकले आफ्नै पालामा जनताको आवश्यकता अनुरुप अस्पताल र आयुर्वोद अस्पताल बनाउने योजना ल्याएको बताए ।  उनका अनुसार पुर्वमन्त्री बिना मगरकै प्रमुख आथित्यमा शिलान्यास भएको थियो । उनले भवन अनुरुप नागरिकको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन ।

कार्यक्रमका अध्यक्ष टिकाराम चौधरीले नयाँ भवन निर्माणसँगै स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले स्थानीय नागरिकलाई उपलब्ध स्वास्थ्य सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्दै स्वास्थ्य संस्थाको संरक्षण र प्रवद्र्धनमा सबैको साझा जिम्मेवारी रहने बताए ।

विशिष्ट अतिथि सपना चौधरी रानाले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता पूर्वाधार महत्वपूर्ण हुने उल्लेख गरिन् । उनले आधुनिक चिकित्सा सेवासँगै आयुर्वेद उपचारप्रति पनि नागरिकको आकर्षण बढ्दै गएको भन्दै दुवै सेवाको प्रभावकारी सञ्चालनमा जोड दिइन् ।

निवर्तमान गाउँपालिका अध्यक्ष मदनसेन बडायकले स्वास्थ्य क्षेत्रको विकास निरन्तर प्रक्रियाको विषय भएको उल्लेख गर्दै नवनिर्मित भवनले गाउँपालिकाको स्वास्थ्य सेवा विस्तारमा नयाँ आयाम थप्ने बताए । उनले पूर्वाधारसँगै सेवा प्रवाहलाई पनि प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सहभागी वक्ताहरूले स्वास्थ्य सेवा नागरिकको पहिलो आवश्यकता भएकाले अस्पताल र आयुर्वेद औषधालयबाट गुणस्तरीय, सहज र सर्वसुलभ सेवा प्रवाह गर्न सबै पक्षले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले गरेका थिए ।

नवनिर्मित भवन उद्घाटनसँगै लालझाडी आधारभूत अस्पताल र शंकरपुर आयुर्वेद औषधालयबाट प्रदान गरिने स्वास्थ्य सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले समेत नयाँ भवन सञ्चालनले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता क्रमशः कम हुने विश्वास व्यक्त गरेका छन् ।

लालझाडी गाउँपालिका–३ का वडा अध्यक्ष टिकाराम चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष निर्मल राना प्रमुख अतिथि, तत्तकालिन प्रमुख मदन सेन बडायक, गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना तथा गाउँपालिकाका निर्वर्तमान अध्यक्ष मदनसेन बडायक विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।कार्यक्रममा जनप्रतिनिधी सहितका सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस