राष्ट्रिय

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य


बैतडी, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्र्तगत बैतडीका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको  हो । तर कुनै पनि स्थानीय तहमा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४ वटै वडा सबैमा पुरुषले नै नेतृत्व सम्हालेका छन् ।    
दलित र महिलाको नेतृत्वप्रति अझै पनि शंका गर्ने प्रवृति कायमै रहेकाले  नेतृत्वमा शून्य देखिएको हो । पुरुषजस्तै महिलाले पनि काम गर्न सक्ने भएपनि पुरातन सोचको अन्त्य हुन नसक्दा महिलाहरुले अझै पनि पछाडी पर्नु परेको छ ।  
पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसकेपनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिए । उनले भने,‘अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिएपनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ ।’
राजनीतिमा भर्खरै मात्रै महिला प्रवेश गरिरहेका र सामाजिक परिवेश लगायतका कारणले मुख्य पद ओगट्न नसकेका सचिव भट्टले बताए । उनले भने,‘महिला नेतृत्वको क्षमतामा शंकाभन्दा पनि भर्खर मात्रै राजनीतिमा प्रवेश गरिरहेका छन् त्यसैले केही समस्या भएको हो ।’ जिल्ला कमिटि र महाधिवेशन प्रतिनिधिमा भने महिला र दलितको सहभागिता अनिवार्य हुने भट्टको भनाई छ ।  
हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द नगरपालिकामा अजबहादुर पाण्डे, पाटन नगरपालिकामा ललितसिंह ठगुन्ना,पुर्चौडी नगरपालिकामा कर्णबहादुर धामी र मेलौली नगरपालिकामा राजबहादुर चन्द अध्यक्ष भएका छन् । 
यस्तै दोगडाकेदार गाउँपालिकामा काशीसिंह विष्ट,डिलाशैनी गाउँपालिकामा रघुबीर बोहरा, पञ्चेश्वर गाउँपालिकामा प्रकाश चन्द, शिवनाथ गाउँपालिकामा महेन्द्र चन्द, सुर्नया गाउँपालिकामा राजेन्द्र भट्ट र  सिगास गाउँपालिकामा गोपाल धामी चयन भएका छन् । 
यसैबीच बैतडीमा महाधिवेशन प्रतिनिधि छनौट भने कात्तिक २७ गते गर्ने  जनाएको छ ।  प्रदेश सभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ ।  
एमालेको दसौँ महाधिवेशन  आगामी मङ्सिर १० देखि १२ गतेसम्म  चितवनमा हुदैछ ।

प्रतिकृया दिनुहोस