राष्ट्रिय

सशस्त्रको बिओपीलाई पूर्वाधार बनाउने सहयोग गर्ने भीनपा प्रमुख विष्टको प्रतिवद्धता

महेन्द्रनगर, २१ असोज -भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले ब्रह्मदेबमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ( बिओपी) को पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । ब्रह्मदेबस्थित सिद्धनाथ सामुदायिक वन क्षेत्रमा स्थापना गरिएको बिओपी पोष्टको उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले पूर्वाधार बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् । ‘जबसम्म सुरक्षा र जनताबीच एक रुपता हुँदैन, तबसम्म शान्ति सुरक्षाको अवस्था राम्रो हुँदैन’ नगर प्रमुख विष्टले भने,‘यो पोष्ट बनेपछि सीमा क्षेत्र सुरक्षित हुन्छ, यसको पूर्वाधार बनाउन नगरपालिका प्रतिवद्धता गर्छ ।’ ब्रह्मदेबमा बिओपी स्थापना गरिएपछि भारतसित सीमा जोडिएका क्षेत्रमा पोष्टको संख्या तीन पुगेको छ । दोधारा चाँदनी र बेलौरीमा विगतदेखि नै सशस्त्रको बिओपी छ । भीमदत्त नगरपालिका नगर प्रमुख विष्ट र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्र बहादुर थापाले संयुक्त रुपमा पोष्ट उद्घाटन गरे । स्थानीयले प्रहरी पोष्ट स्थापना गर्न माग गर्दै आएका थिए ।

सिद्धनाथ सामुदायिक वन क्षेत्रमा बिओपी राखिएको छ । सामुदायि वनले बिओपीका लागि सशस्त्र प्रहरीलाई तीन बिगाहा जमिन उपलब्ध गराएको छ । तत्काललाई बिओपी अस्थायी रुपमा सामुदायिक वन कार्यालयमा राखिएको छ । कार्यक्रममा नगर प्रमुख विष्टले गौशलाबाट उत्पादन हुने ग्याँस समेत प्रहरीलाई प्रयोग गर्न दिइने बताए । ‘यो पोष्ट राखिने ठाउँ नजिक गौशला छ, त्यसमा ग्याँस उत्पादनको कुरा अघि सारेका छौ’ उनले भने,‘यो ग्याँस समेत वहाँहरुलाई नै उपलब्ध गराउँछौ ।’ नगरपालिकाले व्यवसायिक पशुपालन र अनुसन्धानका लागि गौशलामा बनाएको हो । कार्यक्रममा नगर प्रमुख विष्टले पर्यटन प्रवद्र्धन प्रवद्र्धनका लागि जैविक मार्गमा सेना, प्रहरी र सशस्त्र सहितको म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने बताए । ‘जैविक मार्ग क्लियर गर्छौ, सेना, प्रहरी, सशस्त्र सबैसित सहकार्य गरी केही गर्न चाहन्छौ’ उनले भने,‘सबै सहितको म्याराथुन गर्छौ ।’ ब्रह्मदेबको सिद्धनाथ मन्दिरमा नियमति सरसफाई अभियान चलाउन उनले समितिका अध्यक्ष केशव सिह नायकलाई आग्रह गरे । महाकाली नदीको बहुउपयोग गर्ने कुरा आफूले चुनावी प्रचारका क्रममा अघि सारेको उल्लेख गर्दै उनले महाकाली नदीमा ¥याफ्टिङ्ग सञ्चालनका लागि स्थलगत अध्ययन गरिएको बताए । उनले ब्रम्हदेबदेखि डडेल्धुराको पर्शुराम क्षेत्रसम्म जलमार्ग गस्ती सञ्चालन गर्न पहल गरिने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीको सुदूरपश्चिम बाहिनीका प्रमुख थापाले जनता र स्थानीय सरकारसित सहकार्य गरी सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गरिने बताए । सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले सीमा क्षेत्रका वासिन्दा बर्दि विनाका प्रहरी भएकाले सशस्त्र प्रहरीलाई सहयोग गर्नु पर्नेमा जोड दिए । बिओपीमा प्रहरी निरीक्षक शैलेन्द्र सिंह चौसिरको कमाण्डमा ३५ प्रहरीको टोली छ । कञ्चनपुरमा ब्रह्मदेबदेखि डोकेबजारसम्म १ सय २९ दशमलव ५ किलोमिटर खुला सीमा क्षेत्र छ । पूर्नवासमा सशस्त्र प्रहरीको एक अस्थायी पोष्ट छ । भीमदत्त नगरपालिका वडा नं. ९ का अध्यक्ष राम नाथले सीमा सुरक्षा पोष्ट स्थापनाले सीमा क्षेत्रका अपराध रोकिने विश्वास व्यक्त गरे । स्थानीय मोति सिह महताले प्रहरी पोष्ट स्थापनाले सीमा विवाद समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस