स्वास्थ्य

भीमदत्तमा स्वास्थ्य बीमा कार्यक्रम सुरु 

महेन्द्रनगर, २१ असोज- भीमदत्त नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । नगर वासिन्दाको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले भीमदत्त नगरपालिकाका जनप्रतिनिधी र सरोकारवालासँग स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी छलफल गरेको छ । 
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख विष्टले नगर वासिन्दाको स्वास्थ्य अधिकार सुरक्षित राख्नका लागि स्वास्थ्य बीमा कार्यक्रम सहयोगी हुने बताए ।
‘शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढेको र्छौ, स्वास्थ्य अधिकार सुनिश्चित गर्न वडा वडामा स्वास्थ्य चौकी स्थापना अभियान सुरु गरेका छौ’ उनले भने,‘स्वास्थ्य शिविर, औषधि प्रदान, स्वास्थ्यकर्मी परिचालन लगायतका कार्यक्रम गर्दै आएका छौ ।’
भीमदत्त नगरपालिका लगायत जिल्लाका नौ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको स्वास्थ्य बिमा बोर्डका सुदूरपश्चिम संयोजक जनक साउँदले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा चार वर्ष अघि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो । ‘ सुदूरपश्चिम जिल्लाको डोटी र डडेल्धुरा बाहेक अन्य ७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिसकेका छौं,’ उनले भने । अहिले ४४ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेको छ । 
स्वास्थ्य बिमा बोर्डले कञ्चनपुरका ९ वटै स्थानीय तहमा गएर स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी जनप्रतिनिधि र सरोकारवालसँग छलफल गर्ने संयोजक साउँदले बताए । नेपालको स्वास्थ्य सम्बन्धी सूचाङ्कमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पु¥याउने लक्ष्य स्वास्थ्य बिमा कार्यक्रमको रहेको छ । 
५ जना सदस्य रहेको परिवारले विमा गर्दा वर्षको २ हजार ५ सय रुपैयाँ प्रिमियम रकम तिरेर सदस्य बन्ने छन् । सो बापत वर्षभरिमा ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ । पाँच भन्दा बढी सदस्य भएका परिवारले थप प्रति व्यक्ति ४ सय ५० रुपैयाँ बढी तिरेर बिमाको सदस्य बन्न सकिने विमा ऐन २०७४ मा उल्लेख गरिको छ । ५ जना भन्दा वढी परिवार सदस्यको प्रिमियम अनुसार ५० हजार देखी १ लाख बराबर सम्मको वार्षिक निःशुल्क उपचार सेवा लिने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस